‘नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आन्तरिक लगानीले मात्रै पुग्दैन’

‘नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आन्तरिक लगानीले मात्रै पुग्दैन’

  • शुक्रबार, मंसिर ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, ६ मङ्सिर ।नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि थप लगानी जरुरी रहेकाले आफूहरु त्यसतर्फ लागि परेको सरोकार भएका निकायका प्रतिनिधिले जोड दिएका छन् । सम्भाव्य लगानीको स्रोत पहिचानका लागि सरकारी, निजी क्षेत्रले सहकार्य गर्दै आन्तरिक तथा बाह्य लगानीलाई विशेष चासोका साथ अगाडि बढाउनुपर्ने उनीहरुको जोड थियो । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा त्यसका लागि पनि ठूलो लगानी जरुरी भएकाले आन्तरिक लगानीले मात्रै लक्ष्य पूरा हुन नसक्ने उनीहरुको भनाइ थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आयोजना गरेको ‘पावर समिट, २०१९’ को अवसरमा आज आयोजित लगानीको आकर्षण विषयक अन्तरसंवादमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले स्वदेशी तथा विदेशी लगानीका लागि आफूहरुले सहजीकरण गरिरहेको बताउनुभयो । उहाँले केन्द्रीय बैंकका तर्फबाट लगानीकर्तालाई दिनुपर्ने सुविधा र निर्वाह गर्नुपर्ने भूमिका इमान्दार भएर निभाइरहेको र आवश्यक सहयोग उपलब्ध गराएको उल्लेख गर्नभयो ।

विश्व बैंकका देशीय निर्देशक फरिस एच हदाद जर्भोसले नेपालको ऊर्जा क्षेत्रमा आफूहरुले लगानीको मात्रा बढाएको र त्यसले सकारात्मक परिणाम दिनेमा आशावादी रहेको बताउनुभयो । वैकल्पिक ऊर्जाको क्षेत्रमा समेत आफूहरुको उत्तिकै चासो रहेको भन्दै उहाँले नेपालले पछिल्ला दिनमा गरेको प्रगतिबाट आफू असाध्यै उत्साहित भएको उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय वित्तिय निगम (आइएफसी) ले माथिल्लो त्रिशूली एक (२१६ मेगावाट)मा लगानी गरेको उदाहरण पेश गर्दै जर्भोसले अन्य केही ठूला आयोजनामा समेत साझेदारी गर्न तयार रहेको जानकारी दिनुभयो । डोल्मा इम्प्याक्ट फण्डका प्रमुख कार्यकारी टिम गोचरले सौर्य ऊर्जाको क्षेत्रमा लगानी विस्तारका लागि आफूहरु प्रयासरत रहेको बताउनुभयो । सुक्खा समयको माग धान्नका लागि पनि सौर्य ऊर्जा महत्वपूर्ण माध्यम भएको उहाँको भनाइ थियो । सिसिके पावरका उपाध्यक्ष छु हुइले नेपाल सरकारले गरेको नीतिगत तथा कानूनी सुधारले आफूहरु उत्साहित भएको र थप लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभयो । वैदेशिक लगानी भित्र्याउनका लागि अमेरिकी मुद्रामा विद्युत् खरीद सम्झौता र हेजिङ फण्डको व्यवस्थाले समेत थप सहज भएको उल्लेख गर्नुभयो ।

बङ्गलादेशको युनाइटेड पावरका प्रबन्ध निर्देशक एमएच रसिदले नेपाल र बङ्गलादेशले एक अर्काको अनुभवबाट सिकेर अगाडि बढ्न सकिने उल्लेख गर्नुभयो । उहाँले आफ्नो सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको र सोहीअनुसारको नीतिगत एवं व्यावहारिक वातावरण तयार पारेकाले त्यसबाट आफूहरुलाई काम गर्न थप सहज भएको बताउनुभयो ।

विद्युतीय सवारीमा जोड

पेट्रोलियम पर्दाथको तुलनामा विद्युत्तीय सवारी दीर्घकालीन लगानीका हिसाबले सबैभन्दा सस्तो र वातावरणमैत्री रहेकोमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तलमाथि हुने र त्यसले अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले सस्तो र भरपर्दो माध्यमका रूपमा विद्युतीय सवारी नै रहेको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रले साझा प्रयास गर्नुपर्ने उनीहरुको जोड थियो । नेपालको सन्दर्भमा विद्युत्तीय सवारी भरपर्दो, गुणस्तरीय र ध्वनी तथा वायु प्रदूषण कम गर्ने बहुउपयोगी क्षेत्रको रूपमा अथ्र्याए ।

पावर समिट, २०१९ को सन्दर्भमा आज साझा यातायातको तर्फबाट आफ्नो धारणा राख्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले विद्युतीय सवारी सबैभन्दा भरपर्दो र राम्रो माध्यम हुने बताउनुभयो । पेट्रोल तथा डिजेलबाट चल्ने सवारीका कारण ध्वनी तथा वायु प्रदूषण बढेको भन्दै उहाँले त्यसको न्यूनीकरण गर्न नेपाल सरकारले पनि विद्युतीय सवारी सञ्चालनमा जोड दिएको उल्लेख गर्नुभयो ।

विद्युतीय सवारीले देशको अर्थतन्त्रको विकास र पर्यावरण संरक्षणमा भूमिका खेल्नेछ भन्दै उहाँले देशमा उत्पादन हुने बिजुलीको खपत बढाउन पनि विद्युतीय सवारी महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ