कार्तिक १ अमेरीका । अर्थमन्त्री डा युवराज खतिवडाले अमेरिकाको वासिङ्गटन डि।सी। मा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एशिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा सहभागिता जनाएका छन् ।
विश्व बैंकले नेपालमा सहायता गरेको पचास वर्ष पुगेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा। खतिवडाले विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणानीति प्राथमिकताहरुको विषयमा चर्चा गर्दै नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र आम जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्याई गुणस्तरीय जीवन यापन गर्न सक्ने बनाउन बैंकको सहायता राशीमा उल्लेखनीय बृद्धि गर्न जरुरी रहेको बताए । भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरंजीवि नेपाल र प्रतिनिधिमण्डलका अन्य सदस्यहरु पनि सहभागी थिए ।
बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा। खतिवडाले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाउनु भयो।विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा उच्च प्रशंशा अझै धेरै साझेदारी गर्न बाँकी रहेको पनि बताए ।
नेपालमा वित्तीय संघीयताको कार्यान्वयनको अनुभव आदान प्रदान गर्ने कार्यक्रममा विश्व बैंकका उपाध्यक्ष हार्टविक सेफरले नेपालले छोटो सयममा वित्तीय संघियता कार्यान्वयन गर्न सफल भएकोमा प्रशंशा गरे ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक वैठकमा सहभागी हुन आएको अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका अर्थमन्त्रीहरुको १४ औं अनौपचारिक वैठकको अध्यक्षता गर्दै अर्थमन्त्री डा। खतिवडाले यस क्षेत्रको आर्थिक बृद्धिका लागि व्यापार सहजीकरण जरुरी रहको बताए ।