जनकपुरधाम, कातिक १ गते , धनुषाको मिथिला नगरपालिका स्थित ढल्केबरको एक निजी विद्यालयमा पढ्ने २ जना बालिकामाथि एउटै शिक्षकले पटक पटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ ।
ढल्केबरको ढल्केबर एकेडमी बोर्डिङ्घ स्कुलमा मिनी बोडर्समा पढ्ने एक ७ वर्षीया र अर्की ९ वर्षीया बालिकामाथि ४३ वर्षका शिक्षक टेकेन्द्र दहालले पटक पटक जवरजस्ती करणी गरेको घटना बाहिर आएको हो ।
घटना सार्वजनिक भएपछि गत असोज २८ गते शिक्षक टेकेन्द्रलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । झापाको पेचीनगर नगरपालिका ३ घर भएका शिक्षक टेकेन्द्र हाल ढल्केबर एकेडमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए ।
दशैं अघिदेखि नै विदाको दिनको मौकाछोपी मिनी बोडर्समा पढ्दै गरेकी ती दुई बालिकालाई शिक्षक टेकेन्द्रले ललाईफकाई तथा धाकधम्की दिँदै पटक पटक जवरजस्ती करणी गर्दै आएको जनाइएको छ । कसैलाई भने मारिदिने धम्की दिँदै आएका कारण ती पीडित दुई बालिका डरले कुरा गोप्य राखेकी थिइन् ।
प्रहरीका अनुसार घटना सार्वजनिक भएपछि पीडित दुईबालिका र आरोपी शिक्षक टेकेन्द्रको जनकपुर अंचल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपी शिक्षक टेकेन्द्रमाथि जवरजस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।