वडाध्यक्षको सिफारिसमा भारतीयलाई नागरिकता

वडाध्यक्षको सिफारिसमा भारतीयलाई नागरिकता

  • आइतवार, अशोज २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

असोज २६ लाहान । एकजना भारतीय नागरिकले सिरहाको औरही गाउँपालिका–५ मा घर–ठेगाना कायम गरी नेपाली नागरिकता लिएको खुलेको छ । भारतको मधुवनी घर भएका महेन्द्र मुखियाले नेपाली नागरिकता लिएका हुन् । औरही–५ घर भई गोलबजार नगरपालिका–५ निपनिया बस्दै आएका ६० वर्षीय दुःखियालाल मुखिया र ५३ वर्षीया शिवरानीवती मुखियालाई नक्कली बाबु–आमा कायम गरी उनले नेपाली नागरिकता लिएको स्थानीयको भनाइ छ ।

मुखियादम्पतीलाई बाबुआमा कायम गरी १० असारमा महेन्द्र मुखिया र राजेन्द्र मुखियाले वडा कार्यालयबाट जन्मदर्ता बनाएका थिए । महेन्द्रले जन्म दर्ता गरेकै दिन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन् । महेन्द्रसँगै जन्मदर्ता बनाउने राजेन्द्रको भने पहिचान खुलेको छैन ।

नक्कली आमा बनेकी शिवरानीबतीले वडाध्यक्ष दिलीपकुमार यादव र सचिव विजयकुमार महतोको सेटिङमा रकमको लेनदेन गरी जन्मदर्ता बनाएको र त्यसकै आधारमा नेपाली नागरिकताको सिफारिस गरिएको छ । वडा कार्यालयको रजिस्टरमा महेन्द्रको जन्म मिति ४ वैशाख २०५४, दर्ता नम्बर १०१०२५ र राजेन्द्रको जन्म मिति २४ साउन २०५६ र द.नं. १०१०२६ उल्लेख छ ।

वडा कार्यालयबाट जन्मदर्तासँगै नागरिकताको सिफारिस लिएर सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएका महेन्द्र भारतीय नागरिक रहेको स्थानीय परमेश्वर मुखिया बताउँछन् ।

शिवरानीबतीकै सनाखतमा नागरिकता बनाएको केही दिनमा कागजपत्र मिलाएर पुनः राहदानी बनाउन जिल्ला प्रशासन पुगेका महेन्द्रलाई फाँटवाला कर्मचारीले सोधखोज गर्दा उनले झुक्किएर भारतको मधुवनी घर बताएका थिए । त्यसपछि ‘बाबुलाई लिएर आउँछु’ भन्दै उनी फरार भएपछि किर्ते धन्दा बाहिरिएको हो ।

गाउँमा कहिल्यै नदेखिएका व्यक्तिको जन्मदर्तासहितका कागजात बनाउँदा नेपाली नागरिकता भएका स्थानीय बासिन्दाले सर्जमिन मुचुल्का चाहिने भए पनि वडाध्यक्ष र सचिव ‘कार्यालयमा सेवाग्राहीको भिडभाडमा झुक्कियौँ’ भन्दै पन्छिएका छन् । ‘सेवाग्राहीको कागजात बनाउने काम सचिवको हो, उनले जन्मदर्ता बनाइदिएपछि मैले नागरिकताको सिफारिस गरिदिएको हुँ’ वडाध्यक्ष यादवले भने, ‘किर्ते गरेर बनाएको जन्मदर्ताको आधारमा गैरनागरिकले नागरिकता लिएको थाहा पाएपछि जन्मदर्ता बदर गर्न निवेदन गरेका छौँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ