असोज २४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
६४औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि दबाबमा नपरि निश्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई निर्देशन दिएका हुन्।
उनले भने “कसले अपराध गर्यो त्यो अनुहार हेर्नुपर्ने पनि विषय होइन। को पक्षमा छ। को विपक्षमा छ त्यो प्रहरीले मतलब राख्नु हुदैन। को कुन पदमा छ , कुन ओहोदामा छ , के हैसियतको मान्छे हो ? कति सम्पत्तिवान मान्छे हो। यस्ता कुराहरुके प्रहरीलाई मतलब हुनुहुदैन। कानुनको पालना, काार्यन्वय र अनुहार नहेरीकन निश्पक्ष छानविन गर्नुपर्छ। ”
यसै गरी कार्यक्रममा गृहमन्त्री राम बहादुर थापाले महिला तथा बालबालिका विरुद्धका हिंसामा शुन्य शहनशीलता अपनाई कारवाही अघि बढाउन नेपाल प्रहरीलाई निर्देशन दिए ।
गृहमन्त्री थापाले आर्थिक अनियमिता तथा महिला र बालबालिका विरुद्धका हिंसाका घटनामा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन्। उनले नाम उल्लेख नगरिकनै जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने त्यस्ता क्रियाकलाप क्षम्य नहुने पनि स्पष्ट पारे।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि कसुरको अनुसन्धान प्रक्रियालाई अनुमान र आमरायले प्रभाव पार्न नहुने बताए। कसुरको शिघ्र अनुसन्धान गरि संलग्न दोषी छिट्टै पक्राउ परोस भन्ने आमअपेक्षा हुनु स्वभाविक भएपनि अनुसन्धान विज्ञान भएकाले समय लाग्ने उल्लेख गर्दे उनले प्रहरीको अनुसन्धान प्रक्रियालाई आमराय र अनुमानले प्रभाव पार्न नहुने बताए।
उनले लागु औषध, मानववेचविखन, विद्युतिय कसुर , अबैध हातहतियार ओसार पसार र तस्करी नै अपराधका मुख्य चुनौति भएको र त्यस्ता अपराधका सञ्जालहरु अन्तरदेशीय सम्पर्कमा विस्तार हुदै गएको उल्लेख गरे।उनले त्यस्ता अपराधको प्रभावकारी अनुसन्धानका लागि प्रहरी संगठनको क्षमता विस्तारको साथै आवश्यक साधन स्रोतको उपलब्धता अत्यावश्यक रहेको बताए ।