बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका प्रवक्ता आरपी मैनालीका अनुसार महरालाई उच्च रक्तचापको समस्या देखिएपछि बिहीबार दिउँसो १२ बजे अस्पताल भर्ना गरिएको हो। अब जाँचको रिपोर्ट आएपछि मात्र महराको अस्पताल बसाइ के-कति हुने भन्नेबारे टुंगो लाग्नेछ।
मैनालीका अनुसार महरालाई पहिल्यैदेखि श्वासप्रश्वासको समस्या थियो। उनलाई हाल क्याबिनमा राखिएको छ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो।
उनलाई पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो। उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ।