असाेज २० । अर्घाखाँची जिल्लाको नरपानीमा भएको जीप दुर्घटनामा श्रीमान् श्रीमातीसहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ। उनीहरूका दुई छोरी सहित ६ जना घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमा अर्घाखाँचीको ढाकाबाङ्ग पहाड घर भई हाल दाङ्ग लमही ५ मा बस्दै आएका ५० बर्षिय घनश्याम खनाल र उनकी श्रीमती ४६ बर्षिय श्यामकला खनाल रहेका छन्। उनीहरुका दुई छोरी घाइते भएका छन्। एकजना पुरुषको सनाखत हुन बाँकी रहेको अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए।
लंका यातायात प्रालिको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो। ६ जना घाइते भएका हुन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ।
कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानी नजिकै दुर्घटनामा परेको हो। ९ जना सवार जीप पल्टिँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो भने ६ जना घाइते भएका हुन्।
दुर्घटनामा जीप चालक कपिलवस्तु बुद्धभूमीका वीरेन्द्र श्रेष्ठ, भूमिकास्थान १०, धनचौरका उमेश रेग्मी, दाङ लमही ५ की अनिता खनाल र बिन्दु खनाल, भूमिकास्थान १० कि सीमा रेग्मी र उनका १ वर्षिय छोरा आदित्य रेग्मी रहेका छन्। घाइतेहरु मध्ये चार जनालाई उपचारको लागि चौराह अस्पताल बुटवल पठाइएको छ।