काठमाडौं, १८ असाेज । चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणको औपचारिक मिति सार्वजनिक नगरिएपनि भ्रमणको तयारी भने तीव्र पारिएको छ ।
दसैं लगत्तै हुने अनुमान गरिएको राष्ट्रपति सीको भ्रमणका लागि काठमाडौंका विभिन्न सडक मर्मत गरिएको छ ।सरकारले विशिष्ट पाहुनाको भ्रमणका क्रममा शान्ति सुरक्षाको व्यवस्था मिलाउन भन्दै गृह मन्त्रालयसहित चारै वटा सुरक्षा निकायलाई भ्रमणको तयारीमा लगाएको हो ।
सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीमा जुटेको बताइएको छ ।
बडादसैंको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ ।उच्चस्तरीय भ्रमणका लागि हुने सहमतिका कार्यसूचीबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।