जनकपुरधाम, ८ असाेज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सत्तारूढ दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेस बिरूद्व शसक्त पार्टी अावश्यक हेकाे बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघ धनुषा शाखाको निर्माणाधिन सभाकक्षको निरीक्षण गर्न पुगेका महतोले देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो रहेकाे बताए ।
उनले एकताका लागि समाजवादी पार्टीले सरकार छाडेर समान हैसियतमा आउनुपर्ने बताएका छन् । समाजवादी पार्टी सरकारमा सहभागी भएकै अवस्थामा एकता गर्न नचाहेको उनकाे भनाइ थियाे ।
जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उनले बताए।उनले भने, ‘सत्तामा भएसम्म एकता सम्भव हुँदैन। समानताका आधारमा मात्र पार्टी एकीकरण हुन्छ।’
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका निर्वाचित सांसद महतोले संसदीय कोषबाट महासंघ धनुषा शाखालाई सभाकक्ष निर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए।