४ असोज, काठमाडौं । नेकपाका नेता घनश्याम भुसालले बेल्ट एन्ड रोड इनिसियटिभ ‘बीआरआई’ परियोजनाले राष्ट्रहरुका बीच साझा हित खोज्न यसभन्दा अघि भएका पहलकदमीहरुमा रहेका कमजोरी र सीमाहरुलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
बीआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहलकदमी भएको उनले बताए । पश्चिम केन्द्रित वित्तीय पुँजीको शोषणमा आधारित विश्व व्यवस्थाको विकल्पमा नयाँ र प्रगतिशील विश्व व्यवस्थाको सम्भावना बोकेको भन्दै नेता भुसालले शनिबार काठमाडौंमा गरिएको एक अन्तरक्रिया कार्यक्रममा यो समानताका साथ अगाडि बढ्न खोज्ने सबैको साझा मञ्च भएको बताए ।
उनले सोभियत संघ एउटा मुलुकमा समाजवाद निर्माण गर्ने र विश्व क्रान्तिको जिम्मा लिने बाटोबाट विश्व व्यवस्थामा विकल्प बन्न असफल भएको अवस्थामा चीनले ती कमजोरीबाट बेलैमा शिक्षा लिएको बताए ।
‘एउटै मुलुकमा समाजवाद’ भन्ने सिद्धान्तको नयाँ भाष्य स्थापित गरेको छ, कोही बढी समाजवादी कोहि कम समाजवादी, कोहि कुनै कुरामा समाजवादी अर्को चाँहि अर्को कुरामा समााजवादी हुँदै विकसित हुँदै जाने बाटो स्थापित गरेको छ ।आजको समाजवादी आन्दोलन र त्यसको विकासका सिद्धान्तहरुका सन्दर्भमा आजका कम्युनिष्ट र गैरकम्युनिष्ट समाजवादीहरुका लागि पनि यसले महत्व राख्छ ,’ भुसालले भने ।