काठमाडौं, २ असाेज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशी चासो र स्वार्थका बीच सन्तुलित नीति अपनाउन नसक्दा देश द्वन्द्वमा फस्नसक्ने खतरा रहेकाे बताएका छन् । बिहीबार संघीय संसदको बर्खे अधिवेशनलाई सम्बोधन गर्दै उनले चीन, अमेरिका र भारतका आ आफ्नै चासो र स्वार्थको टकराबबीच नेपालले सन्तुलित व्यवहार गर्न नसक्दा ‘अफगानिस्तान’ बन्ने खतरा रहेको बताएका हुन् ।
भट्टराइले प्रष्ट विदेश नीति अवलम्वन गर्दै सन्तुलित व्यवहार गरेको खण्डमा देश समृद्ध बन्नसक्ने पनि बताए। ‘भूराजनीतिक अवस्थिति नेपालको लागि ठूलो अवसर र चुनौती पनि हो । थर्ड वल्र्डबाट फस्र्ट वल्र्डमा जानसक्ने अवसर हामीसँग छ । यसलाई ठीक ढंगले समालेर जानुपर्नेमा हामी चुक्दै त छैनौँ !’ डा. भट्टराईले भनेका छन् ।
भट्टराईले भनेका छन्, ‘अमेरिकाले समेत यहाँ चासो राख्दैछ, भारतको परम्परागत चासो छँदैछ । यो चुनौती सँगै अवसर पनि हो । तर अफगानिस्तान बन्ने डर पनि छ । यो विषयमा संसदमै जस्तो बहस हुनुपथ्र्यौ, त्यसो भएन । तीन ठूला शक्तिको ध्यान केन्द्रित भइरहेको छ, स्वार्थ टकराउँदैछ, चुनौतीलाई अवसरमा बदल्नुपर्छ । सबैसँग अलग अलग व्यवहार गर्ने हो । एउटालाई अर्कोको विरुद्ध प्रयोग गर्नु हुँदैन ।’
परराष्ट्र नीतिमाथि कटाक्ष गर्दै डा. भट्टराईले वामपन्थी बिचारधारा बोकेका नेताहरुमाथि व्यंग समेत गरेका थिए । विदेश नीतिका सवालमा राजनीतिक बिचारधारा भन्दा पनि राष्ट्रिहितलाई महत्वमा राख्नुपर्ने भन्दै ‘वामपन्थी ह्याङओभर त्याग्नुपर्ने’ उनको भनाइ थियो ।
यस्तै उनले लोक सेवा आयोगको विज्ञापनमा पनि संविधानको कार्यान्वनय हुन नसकेको भन्दै संविधानको व्यवस्था कार्यान्वयन गर्न नसक्दा सबैको स्वामित्व र अपनत्व कायम हुन नसक्ने बताए । उनले भने, ‘संविधानमा नै त्रुटीहरु गरेका छौ । त्यही कारणले गर्दा आज एकातिर हामीले पुरानै पञ्चायती शैलीमा उर्दी जारी गरेर सबैले अनिवार्य रुपमा दीपावली मनाउनुपर्ने, उपस्थित हुनुपर्ने फर्मान जारी गरिराखिएको छ भने अर्कोपट्टि यो संविधान केही पनि होइन भनी पुरै च्यातेर पुनर्लेखन गर्नुपर्छ भन्ने आवाज पनि छ । यी दुईथरी अतिवादी प्रवृति लोकतन्त्र सम्मत, विज्ञान सम्मत छैन । सत्य सेतो र कालोमा हुँदैन, सत्य खैरो हुन्छ । त्यसैले यो संविधानका सवल पक्षको रक्षा गर्दै दुर्बल पक्ष र कमजोर पक्षलाई संशोधन गरेर पूर्णता दिनुपर्ने आजको आवश्यकता हो ।’
माओकालिन समयको सन्दर्भ कोट्याउँदै उनले ‘रुसले जे गर्यो ठीक गर्यो’भन्ने वाम मान्यतामाथि पनि आलोचना गरेका थिए । समग्रमा उनले नेपालमा ठूला विदेशी शक्तिको चासोलाई अवसरमा बदलेको खण्डमा मुलुकको समृद्धि आउने सुझाव दिएका थिए ।