काठमाडौ, भदौ १७ ।
सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गर्नू भएको छ । कुनै एजेण्डामा निर्णय नभए पनि आ–आफ्नो मन्त्रालयमा भएको काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एक मन्त्रीले बताएका छन् ।
मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राख्नु भएको छ । यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गर्नु भएको थियो ।
मिर्गौलाको उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग भिडियो कन्फरेन्स गर्नु भएको थियो । सो भिडियो कन्फरेन्सलाई प्रधानमन्त्री ओली र उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘मन्त्रिपरिषद बैठक’ भनेपछि वैधानिकतामा प्रश्न उठनुका साथै संसदमा समेत सरकारको आलोचना भएको थियो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थियो । यसैबीच प्रधानमन्त्री ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गर्नु भएको छ ।