काठमाण्डौ, १३ भदौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आन्तरिक सर्कुलर जारी गर्दै पार्टीको नीति र नेतृत्वविरुद्ध लेख्ने, बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षरमा जारी अन्तरपार्टी निर्देशनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम आफ्ना कुरा राख्नु पर्ने तर सार्वजनिक रुपमा विरोध गर्न भने बन्देज गरेको हो ।
अन्तरपार्टी निर्देशन जारी गर्दै नेकपाले अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न र पार्टीको नीति एवं नेतृत्वको सम्बन्धमा सार्वजनिक रुपमा विरोध वा आलोचना नगर्न निर्दे्शित गरेको छ ।
पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।
यस्तै पार्टी एकीकरणको कामले बढी नै समय लिएको भए पनि सहमति र समझदारीका साथ एकताको काम अन्तिम चरणमा आइपुगेको भन्दै उसले यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गरेर बाँकी कामलाई पूर्णता दिने पनि जनाएको छ ।
यस्तै नेकपाले अब नेता कार्यकर्ता तथा आम जनसमुदायलाई जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने पनि जनाएको छ । यसअघि हरेक पत्र दुवै अध्यक्षको हस्ताक्षर हुने गरेकोमा अन्तरपार्टी निर्देशनमा भने अध्यक्ष पुष्पकमल दाहाल मात्रैको हस्ताक्षरमा जारी गरिएको छ ।
साथै अन्तरपार्टी निर्देशनमा सिंगापुरमा उपचाररत प्रधानमन्त्रीसमेत रहनुभएका पार्टीका अर्का अध्यक्ष केपी ओलीको स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।