काठमाडौं , २० साउन ।
नेपाल कम्युनिस्ट पार्टीले वार्ताका बिषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेको छ । सरकारले वार्ताको हल्ला गर्दै दमन र हत्या शृङ्खला अघि बढाएको अवस्थामा सन्चार माध्यमले भने पार्टीबारे गलत प्रचार गरिरहेको भन्दै नेकपाले खण्डन गरेको हो ।
पार्टीका प्रवक्त प्रकाण्डले सोमवार विज्ञप्ति निकालेर देश र जनताका दुस्मन, दलाल तत्वहरू, छिद्रान्वेषी–षड्यन्त्रकारीहरूले सञ्चार माध्यममा ‘वार्ता पक्षधर तथा विवादास्पद व्यक्तिहरूलाई कारबाही गरेको’ भनी गरिरहेको प्रचार गलत भएको भन्दै खण्डन गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता प्रचारलाई जनक्रान्ति र पार्टी्विरोधी अपराध र षड्यन्त्र ठान्दछ र त्यसप्रकारको कुप्रचार खारेज गर्दछ । त्यसप्रकारको नियोजित षड्यन्त्रबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोध गर्दछ ।’
ओली सरकारले वार्ताको हल्ला गर्दै दमन र हत्या शृङ्खला अघि बढाएको भन्दै प्रवक्त प्रकाण्डले नेपाली क्रान्ति र जनताको परिवर्तनको चाहनाविरुद्धको दमनले सरकारलाई राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय रूपमा एक्लो पारेको बताउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दमन र प्रतिबन्ध सरकारकालागि फाँसीको फन्दा झैँ भएको छ । त्यसै कारण वली कम्पनीले वार्ताको विषयलाई ‘आफैँ बोक्सी, आफैँ धामी’भने झैँ गरिरहेको छ । तसर्थ सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टी्भित्र र सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको सङ्केत पनि हो । ’
वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ता विरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गरेको पनि उहाँले बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले विज्ञाप्तिमार्फत एनसेलमाथि आफ्नो पार्टीले कारबाही गरेको खुलाशा समेत गर्नुभएको छ । उहाँले एनसेलले न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले आफ्नो अपराध नसच्याएमा थप कारबाहीहरू हुने र उसलाई देश निकाला गर्न जनतासमक्ष अपिल गर्न पार्टी बाध्य हुने चेतावनी समेत दिनुभयो ।
विज्ञप्तिमा भनिएको छ, ‘एनसेल नामक दूरसञ्चार प्रदायक संस्थाले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने र सेवाग्राहीलाई चर्को शोषण गरिरहेको छ । त्यसकाविरुद्ध पार्टीले सङ्घर्ष गर्दै आएको छ । त्यस क्रममा साउन १५ गते पार्टीले देशव्यापी उच्चस्तरको कारबाही गर्यो । एनसेलले आफ्नो अपराध नसच्याएमा थप कारबाहीहरू हुनेछ र उसलाई देश निकाला गर्न जनतासमक्ष अपिल गर्न पार्टी बाध्य हुनेछ ।’
