काठमाडौ, साउन १९ ।
९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २२ प्रतिशत सकिएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएनले निर्माण गरिरहेको आयोजनाको काम २२ प्रतिशत सम्पन्न भैसकेको कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगको आजको भेटमा सीईओ धिमानले सुरुङको काम १२ प्रतिशत सकिएको पनि जानकारी दिनुभयो । भेटमा मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सीमाभित्र नै अरुण तेस्रो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्यकालको शुभकामना दिँदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजीकरण गर्न तयार रहेको बताउनुभयो । सिइओ धिमानले अरुण तेस्रो जलविद्युत् परियोजना समय सीमाभित्र नै सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सरकारको तर्फबाट सहयोग प्राप्त भैरहेको जनाउँदै स्थानीयले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले नेपालमा पछिल्लो समय लगानीको लागि राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको गर्न इच्छुक रहेको मन्त्री पुनसँग भन्नुभयो ।
९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतको झन्डै २२ प्रतिशत अर्थात १ सय ९८ मेगावाट विद्युत् २५ वर्षसम्म भारतले नेपाललाई निःशुल्क दिनेछ । २५ वर्षपछि भने आयोजनाको स्वामित्व नेपालकै हुनेछ ।