काठमाडौं, साउन १९ ।
सरकारले स्थानीय तहका रिक्त स्थानमा मसिंर १४ मै निर्वाचन गराउने भएको छ । निर्वाचन आयोगले उक्त मितिमा निर्वाचन गराउन उपयुक्त हुने सिफारिस सरकारलाई गरेको थियो ।
आयोगले गत बिहीबार राजनीतिक दलहरुसँगको परामर्शपछि सरकारलाई आफ्नो परामर्शसहितको मंसिर १४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो। त्यही सिफारिसको आधारमा सरकारले निर्वाचनको मिति घोषणा गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज जानकारी दिनुभयो ।
स्थानीय तहको उपनिर्वाचन सरकारले घोषणा गर्ने र प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन निर्वाचन आयोगले नै तोक्ने व्यवस्था रहेको मन्त्री बाँस्कोटाले बताउनु भयो ।
मुलुकभर तीनवटै तहमा कुल ५० स्थानमा जनप्रतिनिधहरु रिक्त छन्। यस्तै सरकारले सशस्त्रका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । मन्त्रिपरिषद्ले एआईजी पुष्पराम केसीलाई सीमा सुरक्षा विभागबाट प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ । सीमा सुरक्षा विभागमा मानव स्रोत विभागमा रहेका एआईजी नारायण बाबु थापालाई पठाएको छ ।
प्रधान कार्यालयको मानव स्रोत विभागमा प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी रामशरण पौडेललाई पठाएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । यस्तै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा प्रहरीको गोली लागी घाइते भएका अर्जुन भण्डारीलाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ।
साउन १६ गते बसेको बैठक मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । गत भदौ ७ गते निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागी भण्डारी घाइते भएका थिए। गोली प्रहारपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै बैठकले ८ जनाको नागरिकता खारेज गर्ने निर्णय गरेको छ। अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द भएको सञ्चारमन्त्रीले बताउनु भयो ।
त्यस्तै सार्वजनिक खरिद नियमावली ८ औँ संशोधन गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि सरकारले गरेको छ । एशियाली विकास बैंकबाट राजमार्ग सुधारका लागि करिब २१ अर्ब ४५ करोड बराबरको सहुलियत ऋण लिन वार्ता टोली गठन गर्ने अख्तियारी दिइएको मन्त्री बाँस्कोटाले बताउनु भयो ।