काठमाडौं, साउन १६ ।
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।
संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो । सर्वदलीय छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालयले सूचना टाँसेर ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्न नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोज नारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन् ।
पौडेल लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै आएको हो ।
त्यसै गरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अवैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमीतकुमार रायको मृत्यु भएपछि भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो । बाढी पहिरोसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नका लागि साउन ८ गतेको बैठक भने सुचारु गरिएको थियो ।