काठमाडौं, १५ साउन ।
नेपाल कम्युनिस्ट पार्टीले बुधवारको बन्दको सफलताले नेकपाका नेताकार्यकर्तामाथि लगाएको झूट्टा आरोप पूर्णतः खारेज गरेको जनाएकोछ ।
सो पार्टी प्रवक्ता प्रकाण्डले बुधवारसाझ विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाको रिहाइको माग गर्दै पार्टीले घोषणा गरेका सङ्घर्षका विभिन्न कार्यक्रम र साउन १५ गतेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम भव्य रूपमा सफल भएको बताउनु भएको छ ।
पार्टीले घोषणा गरेको सङ्घर्षका विभिन्न कार्यक्रम र बन्द सफल पार्न सघाउने आम जनसमुदाय, शैक्षिक–व्यापारिक तथा यातायातसँग सम्बन्धित निकायहरू, उद्योगी–व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, समर्थक, शुभचिन्तक एवम् पार्टी पङ्क्तिप्रति प्रवक्ता प्रकाण्डले पार्टीका तर्फबाट धन्यवादका साथै आभार प्रकट गर्नुभएकोछ ।
प्रकाण्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बन्दको सफलताले केपी–पीके–रामबहादुर मण्डलीले नेकपाका नेता–कार्यकर्तामाथि लगाउँदै आएको झूट्टा आरोप पूर्णतः खारेज भएको प्रमाणित गरेको छ । ’
माइला लामालगायत जेल र हिरासतमा राखिएका सबै नेता कार्यकर्ताको रिहाइको माग गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी ओली–वादल मण्डलीका यस प्रकारका इतिहासकै तानाशाहहरूको हर्कतलाई ओझेल पार्ने निरङ्कुश र आततायी गिरफ्तारी एवम् दमनको निन्दा र घोर भत्र्सना गर्दछ ।’
प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसद्वादीहरूको यथास्थितिवादी चिन्तन र विदेशी शक्तिकेन्द्रको हस्तक्षेपमा देश र जनतामाथि लादिएको प्रतिक्रान्तिका विरुद्ध पार्टीले लगातार सङ्घर्ष गर्दै आएको पनि नेकपाले जनाएको छ ।
देश झन्झन् राजनीतिक सङ्कटतिर फस्दै गएको भन्दै प्रवक्ता प्रकाण्डले पार्टीमाथिको प्रतिबन्धले ओली सरकार समेत राष्ट्रिय–अन्तर्रा्ष्ट्रिय रूपले नै नाङ्गिएर सङ्कटमा परेको बताउनु भएके छ ।
उहाँले सरकारका अन्यायपूर्ण हर्कतहरूकाविरुद्ध हाम्रो पार्टीले सञ्चालन गर्दै आएको सङ्घर्षमा निरन्तर साथ दिइरहन पनि अपिल गर्नुभएको छ ।
