काठमडौं, साउन १५ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाहि इन्चार्ज कुमार पौडेलको हत्याबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् ।
बिहान ११ बजेदेखि सुरु भएको बैठकमा विपक्षी दुवै दलले एक घण्टादेखि नाराबाजी गर्दै बैठक अवरुद्ध पारेपछि बैठक स्थगित भएको छ । विपक्षी दलको विरोधका कारण बैठक भोली दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।
यसअघी सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नासाथ दुवै दलका सांसदहरु बसेको ठाउँबाट उठ्दै विरोध जनाएका थिए । सभामुख महराले विपक्षी दलको विरोधबारे आफू र सरकारलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरे पनि दुवै दलका सांसदहरुले बस्न इन्कार गरेकाल हुन ।
विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहे पनि सभामुख महराले शून्य समय प्रारम्भ भएको भन्दै बैठक अघि बढाउन खोजेपछि दुवै दलका सांसदहरु रोष्ट्रम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । सर्लाही घटनाबारे संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक अवरुद्ध पारिरहने दुवै दलका सांसदहरुले बताएका छन् ।
सर्लाहीमा गएको असार ५ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज मारिएका थिए । यस्तै सर्लाहीमै १३ वर्षीय बालकको मृत्यु प्रकरणमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर नारायणसिंह महतोको ज्यान गएको थियो । कांग्रेस र राजपाले दुवै घटनाको विरोध गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा पछिल्लो समय संसदमा सरकारको विरुद्धमा कार्यगत एकता गरेर अघि बढेका छन्