काठमाण्डौ १५ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिबी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिबी र पछौटेपनको चपेटामा परेको देशलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पार्नु भयो ।
आज सिंहदरबारस्थित आफ्नै कार्यालयमा मन्त्रीहरुसँग चालू आर्थिक वर्षको कार्य योजनामा सम्झौंता गरेपछि उहाँले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा हुने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको र त्यसलाई पूरा गर्न सबै मन्त्रीहरुलाई सचेत गराउनु भयो ।
प्रधानमन्त्री ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दाबी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
उहाँले विकास, निर्मााणको कामलाई सहज ढंगले अघि बढाउने गरी नागरिकले बहुमतको सरकार बनाएको स्मरण गर्दै त्यही अनुकूलतालाई ध्यानमा राखेर विकास, निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । प्रधानमन्त्री ओलीले सरकारको यो अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेको थियो ।