काठमाडौं, १५ साउन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक आज पनि अपरान्ह ३ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा आजदेखि विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचीमाथि छलफल हुने पौडेलले बताउनु भयो ।
गत असार २२ गतेदेखि सुरु बैठकको पहिलो दिन नै महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गर्नुभएको थियो ।
जारी बैठकमा अन्तरित संरचना र १४ औं महाधिवेशनको कार्यतालिकाबारे बृहत छलफल भएको छ । अहिलेसम्म करिब पाँच दर्जन केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् ।
बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिएका छन् । करिब डेढ वर्षपछि १४ औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा गठन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यबाट सुझाव आएको मुख्य सचिव पौडेलले बताउनु भयो ।