काठमाडौं, १४ साउन ।
सांसदहरुले ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिको आत्महत्याको घटनाबारे गृहमन्त्रीसंग जवाफ मागेका छन् ।
प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला समिति सदस्यहरुले विभिन्न घटनामा गृहमन्त्रीको जवाफ माग गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायव सुब्बा युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।
उहाले ९ तला माथिबाट खस्दा पनि श्रेष्ठको शरीरमा कतै पनि रगत नदेखिनु र आत्महत्या भन्नुले ललिता निवास प्रकरण लुकाउनका लागि हत्या गरिएको त होइन भन्ने शंका उब्जिएको बताउनु भयो ।
नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले भने दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस् भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउने भन्दा पनि आत्महत्या नै भएको भन्ने ढंगले आफ्नो धारणा व्यक्त गर्नूभएको छ ।
सांसद डिला संग्रौलाले निर्मला पन्त हत्या सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले गैर जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउनु भएको छ ।
सांसद प्रेम सुवालले सुन काण्ड र निर्मला पन्त हत्याका अपराधीलाई अझै पनि नियन्त्रणमा लिन नसकेको भन्दै अपराधीलाई मृत्युदण्ड दिने प्रावधान राख्ने गरि संविधान संशोधन गर्न सरकारलाई निर्देशन दिनुपर्ने तर्क गर्नुभयो ।
यस्तै बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज पनि छलफल भएको छ । समितिका सदस्यहरुले विधेयकमा प्रहरीले गर्ने अनुसन्धानमा सरकारी वकिलहरुले कुनै किसिमको निर्देशन दिन पाउने व्यवस्था हटाउन सुझाव दिएका थिए ।
सांसद दिलेन्द्रप्रसाद बडूले प्रहरीले स्वतन्त्र ढंगबाट अनुसन्धान गर्न पाउनुपर्ने धारणा व्यतm गर्नुभएको छ । सांसद प्रेम सुवालले कसैको दबाबमा प्रहरी परिचालन गर्ने परिपार्टीको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । सत्तापक्षले नै प्रहरीको कार्यसम्पादनमा हस्तक्षेप गर्ने गरेको भन्दै उहाले यसबाट प्रहरीको छवि नै धुमिल हुने बताउनु भयो ।