काठमाडौं, साउन १३ ।
आजको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गर्दै संसद अवरुद्ध गरेपछि बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक अब आगामी बुधबारका लागि बोलाइएको छ ।
सभामुख कृष्ण महराले बैठकको कार्यसूची अगाडि बढाउने बताएसँगै कांग्रेस र राजपाका सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी सुरु गरेका थिए। उनीहरुले विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानविन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् ।
सभामुख महराले सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी गरेको लगभग ४० मिनेट पछि मात्रै संसद बैठक स्थगित भएको जानकारी दिनु भएको थियो । उहाँले संसद अवरुद्ध नगर्न र छलफलमा भाग लिन कांग्रेस र राजपा सांसदलाई आग्रह गर्नु भएको थियो ।
उहाँले आगामी बुधबारसम्ममा सहमति जुट्ने र त्यसदिनको बैठक स्थगित नहुने अपेक्षा गर्दै बैठक स्थगित भएको जानकारी दिनु भएको हो ।
यसैबीच सभामुख कृष्णबहादुर महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि संसद् चलाउने वातावरण बनाउन र छलफल गर्न दिन आग्रह गर्नु भएको छ । उहाँले आज सांसदहरुले उठाएका विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको भन्दै संसद् चल्न दिन र आ–आफ्नो आसनमा बस्न पटकपटक आग्रह गर्नु भएको थियो ।
सभामुख महराले प्रतिनिधिसभाको बैठक नचल्दा देश र जनताको विविध विषय छलफलमा जान नपाएको भन्दै विरोध गरेर समय खेर नफाल्न आग्रह गर्नुभयो । सभामुखको आग्रहलाई अस्वीकार गर्दै कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले लगातार नाराबाजी गर्दै संसदीय सर्वोच्चता कायम गर्न माग गरेका थिए ।