काठमाडौं, १२ साउन ।
शेयर कारोवार मापक नेप्से परिसूचक आइतवार पुनःदोहोरो अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। स्टकका अनुसार नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४३ विन्दुले घटेर २७०.०४ मा झरेको छ।
नेप्से र सेन्सेटिभ परिसूचक आज क्रमशः १.३५ र १.२६ प्रतिशतले घटेका हुन्। स्टकका अनुसार कारोवार रकम पनि तुलनात्मकरूपमा घटेको छ। कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर ४९ करोड २६ लाख ७३ हजार ६५२ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। बिहीबार नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको थियो।
पूँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले शेयर खरीद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो।