काठमाडौं, साउन १२ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत बीचका व्यापार सम्बन्धी सन्धि–सम्झौता समयमै परिमार्जन हुनुपर्ने बताउनु भएको छ । नेपाल–भारत लजिष्टिक समिटको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले भारतसँग नेपालको उच्च व्यापार घाटा रहेको भन्दै व्यापार सन्तुलित हुनुपर्नेमा जोड दिनु भएको हो ।
उहाँले जलमार्गले दुई देशीय व्यापार अझ विस्तार हुने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको दुई पक्षीय सम्बन्ध सडक सञ्जाल नै रहेको भन्दै रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्ने काम गरिरहेको बताउनुभयो ।
काठमाडौं—वीरगञ्ज रेलमार्ग डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उहाँले नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ फड्को मार्ने क्रममा रहेकोले भारतसँगको व्यापारको भूमिका महत्वूर्ण हुने बताउनु भयो ।
यस्तै सोही कार्यक्रममा भारत सरकारका वाणिज्य हेर्ने विशेष सचिव एन शिवशैलानले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपालसँगको व्यापार थप सुधार र विस्तार गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले दुई पक्षीय व्यापार विस्तार गर्न भारत तयार रहेको बताउनुभयोे । त्यस्ता विषयमा दुवै देश छलफल र कुराकानीबाटै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीले नेपाल–भारत वाणिज्य सम्बन्ध राम्रो भइरहेको भन्दै पेट्रोलियम पाइपलाइनबाट नेपालको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताउनुभयो ।