काठमाडौं, १० साउन ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका राप्ती व्युरो सदस्य लालबहादुर ओली ‘विश्व’लाई रिहा गर्न आदेश दिएको छ ।
शुक्रवार बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै नेता विश्वलाई रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीशको रोहवरमा रिहा गर्न आदेश दिएको हो ।
रिट निवेदनमाथि बहस पैरवीपछि न्यायधिसद्धय इश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले प्रवृत्त धारणा राखी गैर कानुनी तवरले थुनामा राखेको भन्दै ओलीलाई रिहा गर्न आदेश दिएको हो ।
४८ वर्षीय लालबहादुरलाई गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उप–महानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार गरेको थियो ।
उनलाई प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद ओलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदकको पक्षमा अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।