काठमाडौं, ९ साउन ।
नेपाल कम्युनिस्ट पार्टीले म्याग्दी जिल्ला इन्चार्ज विकिरण क्षत्री र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई तत्काल रिहा गर्न माग गरेको छ ।
नकपा धवलागिरी व्युरो इन्चार्ज विप्लवले आज विज्ञप्ति जारी गर्दै क्षत्री र शाक्यलाई विनाकारण गिरफ्तार भन्दै घोर भत्र्सना गरेका छन् । उनले दुबै नेतालाई विना सर्त स–सम्मान रिहा गर्न माग समेत गरेका छन् ।
उनीहरुलाई साउन ६ गते साँझ ५ बजे म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ नयाँ पुलबाट प्रहरीले एकोहोरो फाईरिङ गर्दै गिरफतार गरेको समेत इन्चार्ज विप्लवले बताएका छन् । साथै गिरफ्ता्र दुई नेतालाई तत्काल रिहा नगरे कडा प्रतिरोध गर्ने पनि विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘ओली नेतृत्वको वर्तमान सरकारले कम्युनिस्टको भ्रम छर्दै जनतालाई चर्को कर असुल्ने, भ्रष्ट, तस्कर, काला बजारिया, बलत्कारीहरुलाई प्रसय दिने र आफ्नो सत्ता स्वार्थको लागि सत्ताको चरम दुरुपयोग गर्दै सर्वसाधारण जनतामाथि व्यापक दमन धरपकड र निशस्त्र व्यक्तिमाथि गोली चलाई नक्कली दोहोरो भिडन्तको नाममा जनता मार्ने कार्य गर्दै आइरहेको छ ।’
सरकारको उक्त कदमले नेपालीहरुको बोल्न पाउने मौलिक अधिकारमासमेत धज्जी उडाएको उनले बताएका छन् ।