काठमाडौं ९ साउन ।
सरकारले विभिन्न ३ मन्त्रालयमा शाखा अधिकृत र सो भन्दा माथिको ९ सय ८९ वटा अस्थायी दरबन्दी थप गरेको छ । मन्त्रिपरिषद बैठकले खानेपानी, वन र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा गरी राजपत्रांकित श्रेणीको ८ सय ८९ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले खानेपानीमा २१३, वनमा ५० र श्रम तथा सामाजिक सुरक्षामा ७२६ वटा दरबन्दी थप गरेको बताउनु भएको हो । चालु परियोजना छिटो सम्पन्न गर्नका लागि अस्थायी कर्मचारीको दरबन्दी थप गरेको उहाले जानकारी दिनुभएको छ ।
साथै सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । त्यस्तै सरकारले प्युठानको माण्डवी गाउँपालिकाको केन्द्र पनि सारेको छ ।
साविक नयाँ गाउँ गाविसको कार्यालयमा रहेको केन्द्रलाई माण्डवी गाउँपालिका ३ जस्पुर कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्केटाले जानकारी दिनुभयो ।
यस्तै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बैठकले यसअघि प्राधिकरणको निमित्त अध्यक्ष रहलेका खनाललाई अध्यक्षमा नियुक्त गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।
यस्तै मन्त्री बास्कोटाले रअका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको आफूलाई जानकारी नभएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बास्कोटालाई रअका प्रमुखले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलाई भेटेको हो भनेर सोधिएको प्रश्नको जवाफमा बास्कोटोले भने, ‘यदि आएको हो र भेटेको हो भने कूटनीतिक प्रोटेकलकै आधारमा भेटघाट भएको हुनुपर्छ । त्यसैले प्रधानमन्त्रीले भेट्नु भएको छैन । हल्ला फैलाउने काम नगरौं ।’
ककसले भेटेको थाहा नभएको तर भेट्नै हुँदैनथ्यो भन्ने पनि नभएको भन्दै मन्त्री बास्कोटोले भन्नुभयो, म दाबाका साथ भन्छु प्रधानमन्त्रीले भेटघाट भए जस्तो, भेटेकै जस्तो लाग्दैन ।’
उहाँले अघि भन्नुभयो, रअको प्रमुखलाई भेटेर कोही रअ पक्षधर त हुने होइन होला नि । यस्तो लघुताभाषी मान्यता पनि नराखौं ।’
मन्त्री बास्कोटाले भेटेको हो भन्ने पुष्टि गर्नुछ भने तथ्य प्रमाणसहित आउन आग्रह गर्नुभयो ।
