काठमाडौं, साउन ८ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिले राज्य संस्था नभएर मुलकमा शासनका अनुहार मात्रै फेरीएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसद गिरिले अनुहारको फेरबदलले राज्य संस्था नबदलिने बताएका हुन् ।
बैठकमा गिरिले माओवादी युद्धबाट आएका गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै भने, ‘के जनयुद्धले राज्य संस्थालाई बदल्न सक्यो ?’ अहिले शासनमा अनुहार मात्रै फेरिएको गिरिले बताए ।
जुन कारणले नेपालमा जनयुद्ध शुरू भएको थियो के त्यसले राज्य संस्थालाई बदल्यो ? भन्ने प्रश्न गर्दै नेता भने, ‘जनयुद्धले फेर्न खोजेको त्यो राज्य संस्था परिवर्तन नहुञ्जेल केही हुँदैन।’ ‘अहिले त शासनका अनुहार मात्रै फेरिए । सभामुख, प्रधानमन्त्री, गृहमन्त्री र मन्त्रीका रूपमा ।’
‘नेपालमा जुन कारणले दीर्घकालीन जनयुद्ध भएको थियो के त्यो जनयुद्धले नेपालको राज्य संस्थालाई बदलेको छ ?,’ गिरिले भने, ‘राज्य संस्थाको रुपान्तरणको कुरा छाड्नुस्, हस्तान्तरणसमेत भएको छैन।’