८ साउन, काठमाडौं । बुधवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ ।
कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताउनु भयो ।
संसदले पनि सरकारलाई जनतातिर फर्काउने काम गर्नुपर्ने भन्दै उहाँले त्यसैअनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको जानकारी दिनुभयो ।
मुलुकमा बाढी र पहिरोको विपत्ति परेका बेला संसदमा रहेका दलहरु एक ठाउँमा उभिनुपर्ने सांसद रिजालले बताउनु भयो ।
प्रदेश सरकार र स्थानीय सरकारको पनि साथ लिएर काम गर्न सुझाव दिदै उहाँले विपदका बेला सरकार एक्लैले काम गर्न नसक्ने बताउनु भयो ।
विपदमा परेका नागरिकसमक्ष सबैभन्दा छिटो पुग्न सक्ने स्थानीय सरकारको क्षमता वृद्धिमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यो वर्ष अझै पनि विपत्ति नटरेको भन्दै उनले सरकार सचेत हुनुपर्ने सांसद रिजालको भनाई छ ।
नेपालको भूबनोटका कारण पहाडबाट बगेको पानीले तराईमा हरेक वर्षायाममा डुवान हुने देखिएको भन्दै सांसद रिजालले नदी नियन्त्रणको काम प्रभावकारी रुपमा नगरे समस्या दोहोरिरहने बताउनु भयो ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी पहिरोको रोकथाममा सरकारले झारा टार्ने काममात्र गरेको आरोप लगाउनु भयो ।
दुई तिहाइ बहुमतको सरकारले पनि विपदको समयमा प्रभावकारी रुपमा रोकथाम गर्न नसकेको उहाँको भनाई थियो ।