काठमाडौं, साउन ५ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले जिल्ला र महानगर कमिटीका इञ्चार्ज र सह–इञ्चार्ज तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले ६ महानगरपालिका सहित ७७ वटै जिल्ला इञ्चार्ज र सहइन्चार्जको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज साँझ सम्ममा नामावली सार्वजनिक हुनेछ । आजको बैठकले दुइटा साविक पार्टीका इञ्जार्जहरुमध्ये एकलाई नै अहिले इञ्जार्ज र सहइन्चार्ज तोके पनि विभाग भने गठन गर्न सकेन ।
नेकपाले विभागीय जिम्मेवारी भने टुंग्याउन सकेन ।बैठकमा स्कुल विभागमा दुवै पक्षको दाबी रहँदा विभागीय जिम्मेवारी बाँडफाँड नटुंगिएको हो । पूर्वमाओवादी पक्ष स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार नभएको बुझिएको छ । तर बैठकमा ७७ वटै जिल्लाका ईञ्चार्ज र सह–इञ्चार्जहरुको नाममा भने सहमति भएको जनाइएको छ ।
बैठकले संगठन विभागको जिम्मेवारी वामदेव गौतमलाई दिने निर्णय गरेको जानकारी नेता गौतमले नै दिएका छन् ।
यसअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच विभागीय जिम्मेवारीबारे सहमति भएकोमा उक्त सहमतिलाई अनुमोदन गर्न सचिवालय बैठक बसेको हो । विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधव नेपाललाई दिने सहमति पनि यसअघि नै भईसकेको छ । सचिवालयको अर्को बैठक पर्सी मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः आह्वान गरिएको छ ।
[gview file=”https://mirmireonline.com/wp-content/uploads/2019/07/ncp.pdf”]