काठमाडौं, २ साउन ।
बुटवलको बेलहिया सडक खण्डको बीच भागमा राखिएका पाँच वटा बुद्ध मूर्ति तोडफोड भएको विषयमा सरकारले छानबिन गर्ने भएको छ ।
आज नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले बुद्धमूर्ति तोडफोडको विषयमा जिज्ञासा राखेपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले यस विषयमा छानबिन गर्ने बताउनु भएको हो । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका बुद्धमूर्ति तोडफोड भएका हुन ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आज बिहान तोडफोड भएको अवस्थामा भेटिएको बताउनु भएको हो ।
यस्तै सरकारले गैरकानुनी रुपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा सञ्चारमन्त्रीले पाँचै नागरिकलाई जरीवाना मिनाहा गरी देश निकाला गर्ने निर्णय गरेको जनाउनु भएको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद्को निर्णय नम्बर १ मा भनिएको छ, ’गैरकानूनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकको दुई लाख पचास हजार रूपैयाँ जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरिएको छ ।’त्यसैगरी सरकारले विद्युतीय बस खरिदका लागि साझालाई ३ अर्ब दिने भएको छ । साझालाई ३०० बस खरिदका लागि ३ अर्ब दिने भएको मन्त्री बास्कोटाले बताउनु भयो ।
साना सवारी बढ्दै गएपछि अफ्ठ्यारो हुने भएकले ३ सय बस किन्न सरकारले सेयर खरिद गर्ने निर्णय गरिएको बताउनु भएको छ । पहिले ऋणमा गएको साझा आफ्नो आर्थिक अवस्था सुधार गर्नुपर्ने उहाको भनाइ थियो ।
यस्ता छन् मन्त्रीपरिषद्का आठ निर्णय
१. गैरकानूनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकको दुई लाख पचास हजार रूपैयाँ जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरिएको छ।
२. नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ।
३. तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमार्फत साझा यातायत सहकारी संस्था लिमिटेडलाई तीन अर्व रूपैयाँ नेपाल सरकारको शेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ।
४. प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ।
५. बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ।
६. प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीनजना महिलासहित सातजनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ।
७. राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा श्री नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ।
८. नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी (अठारौं संशोधन नियमावली, २०७६) स्वीकृत गरिएको छ।