रौतहट १ साउन ।
बाढी पीडितहरुको अवस्था बुझ्न रौतहट जानुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
उपसभापति विमलेन्द्र निधि र रौतहटका सांसद मोहम्मद अफ्ताब आलमलाई लिएर देउवाले बाढी प्रभावित गढिमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी, दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर १, २, र ५ तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गर्नुभएको छ ।
त्यसक्रममा पीडित परिवारलाई भेटेका सभापती देउवाले प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदशील नभएको बताउनु भएको छ । भारतीय बाँधका कारण नेपाली भूभाग डुवानमा पर्दा पनि सरकारले कूटनितिक पहल नगरेको उहाको आरोप छ । भारतीय बाँधका कारण रौतहटमा भएको डुबानबारे सरकारले जवाफ दिनुपर्ने देउवाले बताउनु भयो ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ ।
काङ्ग्रेस संसदीय दलको कार्यालयले आज जारी एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील रुपमा कार्य गर्न आग्रह गरेको हो ।
केही दिनअघि परेको भारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान र कटानका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति हुनाका साथै भौतिक क्षति पनि भएको छ ।