काठमाडौं ३० असार ।
सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७१ बिन्दुले बढेर २७०.२८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोवार रकममा भने वृद्धि भएन ।
कूल १७० कम्पनीको २९ लाख ७३ हजार ८४३ कित्ता शेयर ४३ करोड पाँच लाख २५ हजार ८४३ रूपैयाँ मूल्यमा खरीद–बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका ११ उपसमूहकै शेयर उकालो लागेको छ ।
बैंकिङ २.७६, होटल २४.२५, विकास बैंक ३.७, जलविद्युत् १४.८३, वित्त २.९५, निर्जीवन बीमा १५.६५, उत्पादन ३२६.६९, अन्य ३.२६, लघुवित्त ४.७१, जीवन बीमा २०.५५ र सामूहिक लगानी कोष ०.१३ बिन्दुले बढेको छ ।