काठमाडौ, असार ३० ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न नागरिकलाई सशक्त बनाउँदै लैजानु पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यक्ता रहेको औल्याउनुभयो ।
आजबाट काठमाडौमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले विकसित राष्ट्रहरुको कार्बन उत्सर्जनका कारण अतिकम विकसित राष्ट्रहरु पनि जलवायु परिवर्तनको मारमा परेको स्मरण गराउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले आगामी मार्च महिनामा जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने उल्लेख गर्दै त्यसमा सहभागी हुन पनि वैज्ञानिकहरुलाई आग्रह गर्नुभयो । सम्मेलनमा जलवायु परिवर्तनले पारेका नकारात्मक असर न्यूनीकरणसम्बन्धी ठोस योजना तय गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले पारेका नकारात्मक असरलाई न्यूनिकरण गर्न पर्वतीय देशहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न अन्तराष्ट्रिय संघ, संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको पनि बताउनुभयो ।