विवाद नआउने गरि मौद्रिक नीति ल्याउन सुझाव, व्याजदर र बिग मर्जरबारे कार्यक्रममै घोचपेच

विवाद नआउने गरि मौद्रिक नीति ल्याउन सुझाव, व्याजदर र बिग मर्जरबारे कार्यक्रममै घोचपेच

  • सोमवार, असार २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौं, २३ असार ।

उद्योगी व्यापारी तथा बैंकरहरुले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले उद्योगी व्यापारी, बैंक र सर्वसाधारण सबैलाई सकारात्मक प्रतिफल दिनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिको बारेमा सुझाव संकलनका लागि गरेको कार्यक्रममा उनीहरुले बैंक र उद्योगी व्यापारीबीच विवाद नआउने हिसावले मौद्रिक नीति ल्याउन सुझाव दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर्जा र निक्षेपबीचको फरक अर्थात स्प्रिड दर घटाएर साढे ३ प्रतिशतमा झार्न पनि माग गर्नुभयो ।

यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकहरुको मर्जरलाई बलपूर्वक भन्दा पनि बैंकहरुको समझदारीमा गाभ्ने नीति ल्याउन सुझाव दिदैँ तरलता अभाव कम गर्न मौद्रिक नीति केन्द्रित हुनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा गर्भनर चिरिञ्जीवी नेपालले अस्वस्थ प्रतिस्पर्धा कम गर्न र आर्थिक स्थायित्वको लागि बिग मर्जरको आवश्यकता रहेको भन्दै विकसित देशका उदाहरण हेर्न पनि सुझाव दिनुभयो ।
सरकारले राखेको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि भेटाउने गरी मौद्रिक नीति ल्याउने भन्दै बैंक र उद्योगी व्यापारीलाई देशको आवश्यकतालाई पनि ध्यान दिनु आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ् कमर्स, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, साना तथा मझौला उद्योग संघ, सुनचाँदी व्यवसायी संघ लगायतले मौद्रिक नीतिको बारेमा सुझाव दिएका छन् ।

कार्यक्रममा बैंकहरुको ब्याजदर र बिग मर्जरको बारेमा सुझाव दिने क्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले घुमाउरो भाषामा बैंकहरुको ब्याजदर चर्को र असन्तुलित भएको भन्दै यसलाई कस्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिनुभयो ।
तर नेपाल चेम्बर अफ् कमर्सका महासचिव कमलेश अग्रवालले भने मुखै फोरेर बैंकहरुको कार्टे्लिङ अन्त्य गर्न सुझाव दिनुभयो ।

‘ब्याजदर ७ देखि ९ प्रतिशतसम्म हुनुपर्छ, फिक्स फ्लोटिङ ब्याजदरलाई कार्यान्वयनमा ल्याउनुपर्छ, डिपोजिटमा कार्टे्लिङ होइन कि लेण्डिङमा कार्टे्लिङका लागि राष्ट बैंकले पहल गर्नुपर्छ’, अग्रवालले भन्नुभयो । उहाँले बैंकहरुको स्प्रिड दर साढे ३ प्रतिशतमा ल्याउन पनि माग गर्नुभयो ।
ब्याजदरकै विषयमा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले पनि लगानीयोग्य रकमको अभाव भएको भन्दै मौद्रिक नीतिले तरलता योग्य रकम बढाउने उपायसहितको मौद्रिक नीति ल्याए व्यापारी र बैंकबीच सम्बन्ध चिसिन नपाउने बताउनुभयो ।

यस्तै कार्यक्रममा गभर्नरले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘सीईओ साबहरुसँग केही प्रश्न या विचार भए राख्न सक्नुहुन्छ, व्यवसायी मित्रहरुले पनि राख्नुहोस, मैले झगडा गर्न भनेको हैन, सुझाव दिन भनिरहेको छु ।’

बैंकर र राष्ट्र बैंकका गभर्नरबीच भने जुहारी जस्तै चल्यो ।
अग्रवालले बिग मर्जरलाई पनि व्यङ्ग्य गर्नुभयो, ‘केही दिनअघि गभर्नरकै उपस्थितिमा हामीले बिग मर्जरलाई विवाहसँग तुलना गरेका थियौं, तर यो त विवादभन्दा पनि कठिन रहेछ, विवाहमा त २ शरीर एक आत्मा हुन्छ, तर यहाँ त एक शरीर, एक आत्मा नै हुनेभयो के, त्यसैले यसमा हामीले फोर्स गर्दा्बित्तिकै कर्मचारीलाई धेरै नराम्रो असर पर्छ ।’

बैंकर संघको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जरमा राष्ट्र बैंकले जबरजस्ती गर्न लागेको भन्दै घुमाउरो प्रतिक्रिया दिनुभयो । ‘बजारमा धेरै प्लेयर भए भने राष्ट्र बैंकले मर्जरको लागि प्रोत्साहन दिनुपर्छ, स्वतस्स्फुर्त रुपमा बैंकहरु गाभिने गरी राष्ट्र बैंकले नीति ल्याउनुपर्छ, न कि भोलि राष्ट्रबैंकले पुरै हस्तक्षेप गर्नु नपरोस, विगतमा के कस्ता समस्याले मर्जर सोचेजस्तो सफल हुन सकेन भनेर अध्ययन गर्नु उपयुक्त हुन्छ होला’, उहाँले भन्नुभयो ।

त्यसपछि बैंक अफ् काठमाण्डौका सीईओ शोभनदेव पन्तले यदि अहिले मर्जरलाई बाध्यकारी बनाउने हो भने विगतमा जथाभावी लाइसेन्स किन बाँडेको भनेर प्रश्न गर्नुभयो ।

तर राष्ट्र बैंकका गभर्नरले भने बैंकरहरुलाई पर्याप्त पढ्न सुझाव दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी