काठमाडौं, २३ असार । संसदीय सुनुवाइ समितिको सोमवार बसेको बैठकले प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको छ।
सिंहदरबारमा बसेको बैठकले अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, बंगलादेशका लागि प्रस्तावित वंशिधर मिश्र, कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाज र स्पेनका लागि प्रस्तावित दावा फुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
अस्ट्रेलियाका लागि सिफारिस राजदूत महेशप्रसाद दाहाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनका बासिन्दा हुन्। लामो समयसम्म नेपाली कांगे्रसको राजनीतिमा सक्रिय उनी गत असोजमा मात्र नेकपामा प्रवेश गरेका थिए।नेकपाका अध्यक्ष दाहालकै निकट भएकाले उनले पार्टीमा प्रवेश गरेको छोटो समयमै महत्वपूर्ण जिम्मेवारी पाएका हुन्।
नेपाली कांग्रेसको भात्रृ संगठन तरुणदलमा महत्वपूर्ण जिम्मेवारीमा रहेका दाहाल शुशील कोइराला नेतृत्वको सरकारका बेला तत्कालिन सञ्चारमन्त्री मिनेन्द्र रिजालका तर्फबाट नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भएका थिए।
स्पेनका लागि राजदूत सिफारिस दावाफुटी शेर्पा यती एयरलाइन्सका सञ्चालक लाक्पा सोनम शेर्पा तथा पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हमु शेर्पाकी छोरी हुन्। प्रधानमन्त्री ओलीको सम्बन्ध पर्यटन व्यवसायमा संलग्न शेर्पा परिवारसँग राम्रो भएकै कारण दावाफुटी कुटनीतिक पृष्ठभूमिकी नभएर पनि राजदूतको कोटामा सिफारिस भएकी हुन।
यस्तै बंगलादेशका लागि राजदूत सिफारिस वंशीधर मिश्र पुर्व राज्यमन्त्री समेत हुन्। उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्।हाल बंगलादेशका लागि नेपाली राजदूतमा रहेका डा। चोपलाल भूसाललाई फिर्ता बोलाएको सरकारले उनको सट्टामा मिश्रलाई राजदूतका रुपमा पठाउन लागेको हो। भुसाल नेपाली कांग्रेसको कोटामा राजदूत नियुक्त भएका थिए।
त्यस्तै कतारका लागि सिफारिस राजदूत नारद भारद्वाजको विगत झापा आन्दोलनसँग जोडिएको छ। उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एक दशकभन्दा बढी जेल जीवन समेत बिताएका थिए। उनी एक वर्ष अघि मात्र त्रिभुवन विश्वविद्यायबाट सह–प्राध्यापकबाट अवकाश प्राप्त भएका थिए। उनी पत्रकारिता क्षेत्रसँग पनि जोडिएका छन।