काठमाडौं, असार २१ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठक अहिले बसिरहेको छ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बसिरहेको बैठकमा आज पनि प्रस्तुत एजेन्डामाथि सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।
सांसदहरुले सरकारका निर्णय र काम–कारबाही, सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन, पार्टी सन्चालन तथा सरकारले संसदमा दर्ता गरेका विधेयकलगायतका विषयमा धारणा राखिरहेका छन् ।
गत सोमबारदेखि सुरु भएको बैठकमा आज २० जना सांसदले बोल्नका लागि नाम टिपाएको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
यसअघि, बैठकमा बोल्ने सांसदहरुले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए । अधिकांश सांसदले अहिलेकै गति र मतिले समृद्धिमा पुग्न नसकिने भन्दै राष्ट्रिय नीति नै बनाउन सुझाव दिएका छन् ।
आफूहरुलाई जिम्मेवारी नदिएका कारण सरकारका काम–कारबाही जनतासम्म पुग्न नसकेको गुनासो गर्दै उनीहरुले बजेट विनियोजन निष्पक्ष र समानुपातिक नभएको भन्दै आलोचना गरेका थिए ।
सरकारका निर्णयहरु, संसदमा दर्ता भएका विधेयकहरु, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन भन्दै बैठक बोलाइएको थियो ।
सोमबारको बैठकमा २९ जना सांसदहरुले आफ्नो धारणा राखेका थिए ।