काठमाडौं २० असार ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको छ । असार १२ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिनुभएको थियो ।
गभर्नरले निर्देशन दिएको एक सातामै दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने औपचारिक सहमति नै गरेका छन् । आज ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सहमति गरेका हुन् ।
आज मर्जरमा जाने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले जानकारी दिनुभएको छ । उहाले राष्ट्र बैंकको योजना र अहिलेको आवश्यकतालाई ध्यान दिदै मर्जरमा जाने निर्णय भएको बताउनु भएको हो ।
सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नुभएको छ ।
मर्जरका लागि सेयर स्वामित्वको विषयमा भने निर्णय भइनसकेको बताइएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत कुँवर रहनुहुने छ भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हनुहुने छ । नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ ।