काठमाडौं, असार २० ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडियालाई नियन्त्रण गर्ने काम सरकारले नगर्ने बताउनु भएको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पार्न भएको हो ।
तर, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने मन्त्री बाँस्कोटाले भनाई थियो । स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छुट नभएको उहाँले बताउनु भयो । सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने उहाँको तर्क छ ।
संसद सार्वभौम भएकाले बिधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताउनुभयो । उहाँले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको बताउनुभयो ।
यस्तै मन्त्री बाँस्कोटाले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताउनुभयो