काठमाडौं, असार १९ । सरकारले सशस्त्र द्वन्द्व तथा विभिन्न आन्दोलनमा घाइते भई अपांग जीवन बिताइरहेकाहरुलाई पुनःस्थापना र हेरचाहसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।
यही असार १२ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । बिहीबार निर्णय सार्वजनिक गर्दै सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वाग्मती नदी तटीय क्षेत्र सुधार आयोजना दोस्रो चरणका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण सहयोग लिने निर्णय भएको पनि जानकारी दिए ।
यस्तै, सरकारी, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०को म्याद आउँदो साउन २८ गतेसम्म थप्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यसैगरी, प्राविधिक महासेनानी सूर्यराज शर्मालाई प्राविधिक सहायक रथी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को सो बैठकले केन्द्रीय बालकल्याण समिति र जिल्ला बालकल्याण समितिको चल–अचल सम्पत्ति, दायित्व र कर्मचारी राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय बालअधिकार समितिमा हस्तान्तरण गर्नेलगायतका विभिन्न १५ ओटा निर्णय गरेको जनाइएको छ ।
[gview file=”https://mirmireonline.com/wp-content/uploads/2019/07/Nirnayaharu-mantriparisad.pdf”]