काठमाडौं असार १९ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारीमा रहेको बताउनु भएको छ । आज संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले विकास आयोजनाहरुमा हुने ढिलासुस्ती रोक्न निर्माण कम्पनी गठनको तयारीमा रहेको बताउनु भएको हो ।
सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी निर्माण कम्पनीलाई पनि प्रोत्साहन गर्ने मन्त्री महासेठले बताउनुभयो । मन्त्री महासेठले काठमाडौंलाई आगामी आर्थिक वर्ष्भित्र नयाँ काठमाडौं बनाउने समेत उल्लेख गर्नुभयो ।
कोटेश्वरमा सरकारले आफ्नै पैसाले कभर्र्ड अन्डरपास बनाउन लागेको पनि उहाँले बताउनुभयो । कोटेश्वरमा ललितपुर, भक्तपुर र तीनकुने तीनैतिरबाट आउने सवारी साधन निर्वाध चल्न सक्ने गरी अन्डरपास बनाउने मन्त्री महासेठको भनाई थियो ।
महाराजगञ्ज, गौशाला चाबहिल र थापाथलीको सवारी व्यवस्थापनलाई व्यवस्थित गर्न अन्डरपास, फ्लाई ओभर वा के बनाउँदा ठीक हुन्छ भनेर अध्ययन भइरहेको पनि बताउनुभयो ।