काठमाडौं, असार १८ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवामा भनसुनको विकृत परम्परा रहेकाले सच्याउन आवश्यक रहेको बताउनु भएको छ ।
आज प्रतिनिधिसभा अन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलकाक्रममा मन्त्री पण्डितले विगतको तीतो अनुभव सुनाउँदै सरुवामा हुने भनसुनको विकृतिलाई हटाउने गरी व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।
मन्त्री पण्डितले एकजना नायब सुब्बाको सरुवाका लागि आफूकहाँ ३२ जनासम्म सांसद आएको भन्दै अब बन्ने ऐनमा भनसुनको सुनुवाइ हुनै नसक्ने प्रावधान राख्नुपर्ने बताउनु भएको छ । मन्त्रीको आग्रहलगत्तै समितिकी सभापति शशी श्रेष्ठले छलफलकाक्रममा उठेका विषय सम्बोधन हुनेगरी दफा तयार गर्न सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई निर्देशन दिनुभयो ।
छलफलका क्रममा सांसद जनार्दन शर्माले कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई निश्चित अवधिसम्म सरुवा गर्न नपाइने तर कार्यसम्पादन राम्रो नभएका कर्मचारीलाई जतिखेर पनि हटाउन सक्ने व्यवस्था गर्नुपर्ने धारणा व्यतm गर्नुभएको छ । सांसद महेश्वरजंग गहतराजले विकास निर्माणसम्बन्धी योजनाका कर्मचारीको पटक–पटक हुने सरुवाले काम प्रभावित हुने प्रवृत्ति रोक्न ऐनमै व्यवस्था गर्नुपर्ने बताउनु भएको छ ।
सांसद दिलेन्द्रप्रसाद बडूले केही विशेष खालका परियोजना अवधिभर परियोजना प्रमुखलाई हटाउन नमिल्ने व्यवस्था गरे परियोजना प्रमुख परियोजना निर्माणमा उत्तरदायी हुने बताउनु भयो । आजको बैठकमा कर्मचारीको सरुवा र काजसरुवाको प्रावधानमाथि छलफल भएको थियो ।