काठमाडौं, असार १७ ।
राष्ट्रियसभाको आजकोे बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक टेबुल गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले विद्येयक टेबुल गर्नु भएको हो ।
विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ रहेका छन् ।
बैठक सुरु हुनेबित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा कांग्रेसका कार्यकर्तामाथि हालै भएको सांघातिक आक्रमण गर्नेको पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
यस्तै आजको बैठकमा राष्ट्रियसभाकी सांसद कोमल वलीले वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सामुदायिक वनको अधिकार न्यून खोजेको बताउनु भएको छ ।
सांसद वलीले विधेयकको प्रस्तावनाबाट ‘सामुदायिक’ भन्ने शब्द हटाइएको भन्दै त्यसको विरोध गर्नुभयो । सामुदायिक वनहरूलाई स्वतन्त्र रुपमा मूल्य निर्धारणको अधिकारबाट बन्चित गर्न नहुनेमा नेकपा सांसद वलीको जोड छ ।
बजेटमा वन मन्त्रालयलाई उच्च प्राथमिकता दिइएको र मन्त्रालयले वन क्षेत्र बढाउने गरी काम गर्नुपर्ने वलीको भनाइ छ । पाँच करोड विरुवा रोप्ने गरी चलाइएको अभियान राम्रो भएको तर ती विरुवा हुर्काउने र संरक्षण गर्नेतिर पनि ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।