काठमाडौ असार १३ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढाल्ने चेतावनी दिनु भएको छ ।
सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान दोर्होयाउनु भएको हो ।
आज पार्टी्निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी्निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।
त्यस अवसरमा उहाँले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतह स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि बताउनुभयो ।
यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई दबाब दिनुभयो ।
उहाँले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण देश संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराउनुभयो ।
नेता पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति नलिन पनि सरकारलाई सचेत गराउनुभयो ।