काठमाडौं, ८ असार ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याका बिषयमा सत्तारुढ दलकै सांसदले प्रश्न उठाएपछि संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले भोलि विहान ८ बजे बस्ने बैठकमा गृहमन्त्री रामबहादुर थापालाई बोलाएको हो ।
आजको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको बर्बरतापूर्ण हत्या गरेको भन्दै घटनाको विषयमा सरकारसँग स्पष्टिकरण लिनुपर्ने बताउनु भएसँगै भोलिको बैठकमा यसबारे छलफल गर्ने तयारी भएको हो ।
विपद् व्यवस्थापनको तयारीबारे छलफल गर्ने तयारी गरेको समितिले सर्लाही घटना बारे पनि गृहमन्त्रीसँग छलफल गर्ने एजेन्डा थप गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो ।
शर्माले पौडेलको हत्या भएको भन्दै गृहमन्त्री रामबहादुर थापामाथि कारबाहीको माग गर्नुभएको थियाे । हातखुट्टा छियाछिया पारेर निर्ममतापूर्वक हत्या भएको सूचना आफूले पाएको भन्दै नेता शर्माले घटनामा संलग्न अधिकारीसहित गृहमन्त्री थापामाथि कारबाहीको माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘निर्ममतापूर्ण ढंगले हातखुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ। यस्ता घटना पञ्चायतकालका बर्बर हत्याकाण्ड भन्दा फरक छैनन् ।’
यस्तो पञ्चायत्री शैलीले आफूहरुले लडेर ल्याएको व्यवस्थामाथि नै प्रश्न उठ्ने भन्दै शर्माले घटनाबारे गृहमन्त्री थापाले जवाफ दिनुपर्ने बताउनु भयो । ‘यथार्थ के हो गृहमन्त्रीले जानकारी दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘होइन भने यो सरकार र पञ्चायती सरकारमा के फरक ?’
संविधानले निहत्था व्यक्तिको हत्यालाई जघन्य अपराध मानेको अवस्थामा भिडन्तको नाममा मान्छे मार्ने काम नगर्न सरकारलाई चुनौती पनि दिनुभयो ।
संविधान र कानुनभित्र रहेर कारबाही गर्न उचित हुने भए पनि निर्मम ढंगले पौडेलको हत्या हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने आशंका गर्नूभयो । यहि असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।
प्रहरीले जवाफी कारबाहीमा पौडेल मारिएको बताए पनि घटनाको प्रकृति हेर्दा नियन्त्रणमा लिएर हत्या गरेको प्रष्ठ देखिएको भन्दै जनस्तरबाट पनि निश्पक्ष छानविनको माग उठिरहेको छ । परिवारले पनि नियन्त्रणमा लिएर हात भाचेर गोली प्रहार गरि हत्या गरिएको भन्दै दोसिलाई कार्वाहिको माग गरेका छन् । यता नेकपाले पनि पौडेलको नियन्त्रणमा लिएर निर्ममतापूर्वक हत्या गरेको भन्दै त्यसको बिरोधमा यहि असार १० गते नेपाल बन्दको घोषणा गरेको छ ।