काठमाडौं, असार ८ ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारी, नीजि र सहकारी लगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा नभएको बताउनु भएको हो ।
अर्थमन्त्री खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र एक अर्वमाथि बजेट विनियोजन गरिएको बताउनुभयो । दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उहाँले दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनु पर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री डा खतिवडाले भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने बताउँदै ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गरिने बताउनुभयो । यस्तै अर्थमन्त्री खतिवडाको जवाफमाथि सांसद डिला सङ्ग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाउनुभयो ।