काठमाण्डौ ४ असार ।
राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराएकोे छ ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दै आए पनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराउनुभएको हो ।
सरकारले रोष्ट्रम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उहाँले लगाउनुभयो । उहाँले संविधान विपरीत लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको आरोप लगाउनुभउको छ ।
सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उहाँले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद कर्णले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेस आन्दोलन निम्त्याएको हो ?’ भनी प्रश्न गर्नुभएको थियो ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफैले गरेको प्रतिबद्धताबाट पछि हटेको भन्दै उहाँले यसले जनताको सरकारमाथिको विश्वास टुटाउने काम गरेको टिप्पणी गर्नुभएको छ । उहाँले सरकारलाई लोकतन्त्रको हत्या गर्ने काममा उद्दत नहुन सुझाव दिनुभएको छ ।