काठमाडौं, असार ३ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नयाँ प्रदेश प्रमुखका रुपमा जान लागेका ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्न निर्देशन गर्नु भएको छ ।
आज गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित नयाँ प्रदेश प्रहरी प्रमुखहरुलाई गहृमन्त्री थापाले जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न निर्देशन दिनु भएको हो ।
प्रतिपक्षले साना विषयमा पनि विवाद निकालिरहेकाले सचेततापूर्वक काम गर्न बताउदै उहाँले आफूलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक भएको महसुस गरी काम गर्न निर्देशन दिनुभयो ।
गृहमन्त्री थापाले प्रदेश अनुसार फरकफरक समस्या र विशिष्टता रहेकोले सोही अनुसार कसैको दबाबमा नपरि काम गर्न पनि निर्देशन दिनुभयो । तस्करीको नयाँ रुट खुलेको सुनिएको बताउँदै उहाँले कतिपय स्थानमा प्रहरी र तस्करको मिलेमतोका पनि खबर पनि आउने गरेकाले सचते रहन आग्रह गर्नूभयो ।