काठमाडौं, असार २ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणका समयमा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सहमतिअनुसार नै पार्टी सञ्चालन हुनुपर्ने बताउनु भएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा सत्ता हस्तान्तरणका विषयमा भएको सहमतितर्फ संकेत गर्दै दाहालले सहमतिहरु इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले सहिदका सपना साकार पार्न कम्युनिस्ट पार्टीलाई जनताले मत दिएको प्रष्ट पार्दै त्यसलाई खेर जान दिन नहुने बताउनुभयो ।
अध्यक्ष दाहालले जनवाद मार्फत् समाजवादमा पुग्ने कम्युनिस्ट पार्टीको लक्ष्य भएको बताउनुभयो । पार्टी एकीकरण गर्दा प्रष्ट रुपमा वैचारिक लाइन तय भइसकेको भए पनि कतिपय नेताहरुले यसलाई गलत ढंगबाट व्याख्या गरेको उहाँको भनाइ थियो ।
पछिल्ला दिनमा पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद नै पार्टीको लाइन भएको बताउँदै आउनु भएको छ । तर, एकीकृत पार्टीको दस्तावेजमा जनताको जनवाद मात्र उल्लेख छ ।